३३ किलो सुन र सनम हत्या काण्डमा प्रहरीमा बयान दिन गएका एसएसपी दिवेश लोहनी पक्राउ
मोरंग । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डमा मोरङ प्रहरीमा बयान दिन गएका एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् । एसएसपी लोहनीको भुमिका रहस्यमय देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएर सरकारी वकिलको कार्यलय मार्फत म्याद थपिएको स्रोतले जानकारी दिएको छ । उनलाई बयानका लागि उपस्थित गराउन छानविन समितिले पत्राचार गरिगरेपछी मंगलबार मोरङ गएका थिए ।
डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई विराटनगर पठाउने र घटनाको कमाण्ड गरेका अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी लोहनीले चुडामणी उप्रेती ’गोरे’सँग दुई करोड बार्गे्निङ गरेको समाचार बाहिर आएपछी आफुले अभियुक्त पक्राउ गर्न बार्गे्निङको नाटक गरेको जस्तो काइते कुरा गरेर उनी उम्कने दाउमा थिए । लोहनीकै निर्देशनमा डिएसपी केसी सनमको लाश छोडेर धरानमा एक घण्टा हराएपछि गोरे र लोहनीबीच भएको दुई करोडको आर्थिक डिल मिलेको र गोरेले पैसाको व्यबस्थापन पनि गरेको अनुसन्धान स्रोतको भनाइ छ । स्रोतका अनुसार आर्थिक डिल र सनमको लाश व्यबस्थान गर्ने सहमति भएपछि एसएसपी लोहनीले महाशाखाकै सई गजेन्द्र रावलको एक छुट्टै टोली गठन गरेर गोरेको इन्काउन्टर गर्न खोजेका थिए । रावलले भने यो प्रकरणमा नाटकिय रुपमा सफाइ पाएका छन् ।
गोरे पक्राउ परेको खण्डमा आर्थिक डिल र पैशाको कुरासहित सबै पोल खुल्ने डरले लोहनीले गोरेको इन्काउन्टर गर्ने योजना बनाएको स्रोतले उल्लेख गर्यो । तर, सर्वेन्द्र खनाल आईजीपी बनेपछी लोहनीको योजना हावा खायो र अन्ततः उनी नै जेलको बास बस्नुपर्ने अवस्था आएको छ ।
- सुन तस्करी र हत्याको घटनामा प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि सरकारले गत महिना गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो । लोहनीले अनुसन्धानमा खटाएका डिएसपी प्रजित केसीलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरी अनुसन्धान थालेको थियो । टोलीमा रहेका सई बालकृष्ण सञ्जेल पनि प्रहरी थुनामा छन् ।