चितवन राष्ट्रिय निकुञ्जले नौ महीनामै १८ करोड राजर्श्व संकलन गर्यो ।
चितवन , १५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्ष ०७४÷०७५ को चैत मसान्तसम्म नौ महीनामा १८ करोड ५९ लाख ९७ हजार ५ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जमा घुम्न आउने पर्यटकहरु र निकुञ्जको आन्तरिक श्रोतबाट सो राजस्व संकलन गर्न निकुञ्ज सफल भएको हो । निकुञ्जले ‘क’ र ‘ख’ श्रेणी विभाजन गरी राजस्व संकलन गर्दै आएको छ । निकुञ्जले दिएको तथ्यांंक अनुसार पर्यटकहरुबाट लिइएको ‘क’ शीर्षक अन्तर्गत प्रवेश शुल्कबाट १२ करोड ८५ लाख ७१ हजार १ सय रुपैयाँ संंकलन गरेको छ । यसैगरी सवारी शुल्क, जङ्गल सफारी बाट २ करोड ३४ लाख ८० हजार, सुविधायुक्त बाटो प्रयोग गरेबापत १४ लाख ४६ हजार २ सय १३ रुपैयाँ, घाट ठेक्का दिएबापत २७ लाख ९९ हजार ५ सय राजस्व संंकलन भएको छ । ढुङ्गा, गिटी, बालुवा उपभोक्तालाई दिएबापत ७४ लाख ८३ हजार १ सय ९८ रुपैयाँ, वनपैदावारबाट ७० हजार ३ सय ४७ रुपैयाँ, हात्ती भाडाबापत ४ हजार ७ सय ५० रुपैयाँ र अन्य ३ लाख ४० हजार ७ सय रुपैयाँ सङ्कलन भएको निकुञ्जले जानकारी दिएको छ । वन क्षेत्र बाहेक रहेको ‘ख’ शीर्षकमध्ये बोलपत्र फारामबाट ३ लाख ५७ हजार रुपैयाँ, न्यायिक दण्ड तथा जरिवानाबाट २० लाख ५९ हजार ८ सय ५१ रुपैयाँ, बेरुजु ३ लाख २४ हजार ९ सय ६६ रुपैयाँ र मूल्य अभिवृद्धि कर बापत १ करोड ९० लाख ६० हजार २८ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जका सहायक वन संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार चालू आर्थिक वर्षको अन्त्य सम्ममा गत वर्षको भन्दा बढी राजस्व संकलन हुने देखिएको छ । चालू आ।व।मा २५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेको अर्यालले जानकारी दिए । गत आर्थिक वर्ष २०७३÷०७४ मा निकुञ्जले सबै शीर्षकमा गरी कुल २२ करोड ५१ लाख ६३ हजार ४ सय ९ रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७२÷०७३ मा भने विनाशकारी भूकम्प र नाकाबन्दीको कारण पर्यटकको संख्यामा कमी आई राजस्व संकलनमा कमी आएको अर्यालले बताए । उक्त आर्थिक वर्षमा निकुञ्जले १३ करोड १२ लाख २० हजार २ सय ५५ मात्रै राजस्व संंकलन गरेको थियो । यसअघि आर्थिक वर्ष ०७१÷०७२ मा निकुञ्जले झण्डै २५ करोड राजस्व संंकलन गर्न सफल भएको थियो ।