शुक्रबारसम्म पार्टी एकताको मिति टुंगो लाग्ने प्रचण्ड दाबी

 

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताको मिति आगामी बैंशाख १४ गते शुक्रबार टुंगो लाग्ने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पुर्ब प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । ।
‘पार्टी एकता गरिसकेपछि कुनै पनि समस्या नआओस् भनेर समय लागेको हो । एकताको लागि कुनै समस्या छैन’ एकतामा विलम्ब किन भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले जवाफ फर्काउदै , ‘पार्टी एकता छिटै हुन्छ । दुबै पार्टीका अध्यक्ष बसेर १४ गतेसम्म पार्टी एकताको मिति टुंगो लगाउने सहमझदारीमा पुगेका छौँ ।’
‘दुईटा अध्यक्षले पर्याप्त समय निकाल्न सक्ने हो भने एकता टुंगिनेतिर जाने थियो’ अध्यक्ष प्रचण्डले भने ‘प्रधानमन्त्री त व्यस्त हुनु हुने नै भयो, म प्रधानमन्त्री नभए पनि व्यस्त हुनु परेकोले समय दिन नसकिएको हो ।’ पार्टी एकताको लागि हतार गर्नुभन्दा पनि दुई चार दिन ढिलै भएपनि राम्रो होस् भन्ने हिसाबले एकता प्रकृयालाई अगाडि छौं, प्रचण्डले भने ।
‘लेनिनले बरु सयचोटी नाप्ने तर जुत्ता अनुसारको खुट्टा बनाउने भन्नु भएको थियो’ जुत्ता र खुट्टाको प्रसंगमा अध्यक्ष प्रचण्डले भने, ‘ओलीजीले प्रतिकात्मक अर्थमा खुट्टा ताछेर भएपनि जुत्ता लगाउने भन्नु भएको हो । सबै कुरा मिलिसकेपछि संख्याको कुरा पनि मिल्छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन मद्दत पुग्ने भन्दैं ‘मोदीजीको धेरै पहिलेदेखि रोकिएको काम पनि हो जनकपुर र मुक्तिनाथ जाने’ प्रचण्डले भने ‘दुई देशबीचको सम्बन्ध सुधारमा यसले (मोदीको नेपाल भ्रमणले) राम्रो परिस्थिति बनेको छ भन्ने देखाउँछ ।’