‘माउ’ पार्टी बीच एकीकरण हुँदै गर्दा एमाले–माओवादी निकट दुई अखिलबीच आरआरमा झडप

फाइल तस्बिर

काठमाडौं, ९ वैशाख । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका यी दुई दलका विद्यार्थी भातृ संगठनबीच हानाहान भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्ग्स्थित आरआर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियुले माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमाथि आक्रमण गरेका हुन् ।

अखिल क्रान्तिकारीका एक नेताले दैनिक नेपालसँग भने, ‘नेपाल टेलिकमको सिम कार्ड वितरण गर्न हामीले राखेको स्टलमा एमाले निकट अखिलले आक्रमण गरेर भत्काइदिए ।’

यद्यपि, एमाले निकट अखिलले क्याम्पसभित्र नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरेर सदस्यता वितरण गरेकाले आफूहरूले बाध्य भएर स्टल भत्काउनु परेको दाबी गरेको छ ।

अखिल क्रान्तिकारीको स्टल भत्काइदिएपछि अखिल क्रान्तिकारी र एमाले निकट अखिलबीच केही समय झडप भएको थियो । अहिले अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको छ ।