भ्रष्टाचार र एकाधिकार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने
चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका । बुधबा छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ ।”
यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको अभियान शुरु भइसकेको भन्दै उनले अरु सिण्डिकेटविरुद्ध पनि सरकार अघि बढ्ने जानकारी दिए । चितवनका विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी भएका गृहमन्त्री बादलले साँझ भएको उक्त शिलान्यास कार्यक्रममा बोल्दै सबैले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
मुठ्ठिभरका मान्छेमात्र समृद्ध हुने अरु चाहीँ दरिद्र हुने अवस्थाको अन्त्य गर्न चाहेको पनि उनले बताए । गृहमन्त्री थापाले छुट्टै किसिमको सुरक्षा रणनीति बनाउन लागेको समेत जानकारी दिए । उनँले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने समेत बताए ।
प्रहरी कार्यालयको भवन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितिका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य राख्दै प्रहरीले पुरानो शैलीबाट नभई समुदायसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
कालिका नगरपालिकाको रु १४ लाख सहयोगमा निर्माण शुरु गरिएको प्रहरीको भवन पूरा हुँदा करीब रु दुई करोड खर्च हुने अनुमान गरिएको छ ।