सार्वजनिक जग्गामा निमित्त घर नगरपालिकाले भत्कायो

 

 चितवन , २८ चैत । रत्ननगर नगरपालिकाले यहाँका प्रतिष्ठित व्यवसायी कमलचन्द्र खनालको घर भत्काएको छ । सार्वजनिक जग्गामा निमित्त घर भत्काउन नगरपालिकाले दिएको समयावधिमा समेत खाली नगरेपछि नगरपालिकाले टाँडी बजारमा रहेको खनालको घरमा डोजर लगाएर भत्काएको हो । सात मिटर मोहडा र २५ मिटर लम्बाइ भएको सार्वजनिक जग्गामा खनालले घर बनाएर व्यावसायिक प्रयोजनको लागि भाडामा दिएका थिए । नगरपालिकाले चैत १५ गते घर भत्काएर सार्वजनिक जग्गा खाली गर्न खनाललाई पाँच दिनको अवधि राखेर पत्र पठाएको थियो । समयावधि सकिन एक दिन मात्र बाँकी रहदा खनालले नगरपालिकालाई पत्र लेखेर सात दिनको समय माग गरे । खनालको मागअनुसार पाँच दिन थपेर चैत २४ गते सम्मलाई अन्तिम समय भनी समयावधि थप ग¥यो । यसो गर्दा पनि घर नभत्काएपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । नगरपालिकाको लिखित आग्रहलाई बेवास्ता गरेका कारण बाध्य भएर डोजर लगाएका हौँ , श्रेष्ठले भने । यता, रत्ननगर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख विमला दुवाडीको नेतृत्वको टोलीले स्थानीय तहको निर्वाचनपछि सार्वजनिक जग्गामा बनाइएको घर पहिलो पटक भत्काउन सुरू गरेको बताउछिन् । कार्यवाहक नगर प्रमुख दुवाडीसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सदस्य, प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानासहित नगरपालिकाका कर्मचारीहरु, प्रहरीसहित को टोली स्थानीयस्तरमै गएर घर भत्काउन सुरू गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताए । स्थानीय तहको निर्वाचनपछि कार्यपालिकाको असार ३१ गते बसेको पहिलो बैठकले नगर भित्रका सार्वजनिक जग्गा खोज्ने र त्यसको संरक्षण गर्ने निर्णय गरी समिति बनाएरै काम सुरू गरेको थियो । हरिकुमार श्रेष्ठ अध्यक्ष रहेको सार्वजनिक जग्गा संरक्षण समितिले तीव्र रुपमा जग्गा खोज्ने र संरक्षण गर्ने काम अगाडि बढाएको थियो ।