सौराहाका होटलहरुमा १४ बुदे आचारसंहिता जारी
चितवन , चैत १५ –
चितवनको पर्यटकिय क्षेत्र सौराहामा लागु हुनेगरी १४ बुदे आचारसंहिता जारी भएको छ । होटल , रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीको लागी आचारसंहिता जारी गरिएको हो । आगामी नयाँ बर्ष बैशाख १ गतेदेखी लागु हुने गरी आचारसंहिता जारी भएको रेष्टुरेन्ट एण्ड बार एसोसियसन (क्षेत्रीय रेवान ) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । सामाजिक अपराध , विकृती र विसंगती विरुद्ध स्थानिय निकाय , प्रशासनसँगको सहकार्यमा होटल , रेष्टुरेण्ट तथा पर्यटन व्यवसायीसँग आवद्ध संघ संस्थाहरुको लागी आचारसंहिता लागु गरिएको हो । आचारसंहिता लागु गर्न आज सौराहामा भएको एक कार्यक्रममा बोल्ने व्यवसायीहरुले स्थानिय निकाय र प्रशासनले आचारसंहिताको पालना भए नभएको निरिक्षण गर्नुपर्नेमा जोड दिए ।
व्यवसायीहरुले निर्माण गरेको आचारसंहितामा रेष्टुरेण्ट तथा पसलहरु जाडोयाममा राती ११ र गर्मीयाममा राती १२ बजेसम्म मात्रै खोल्न पाउने , पर्यटन क्षेत्रमा मानव तथा जनावरहरुलाई असर गर्ने गरी ध्वनी आउने कार्यक्रम नगर्ने , हर्न निषेधित क्षेत्रलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने , पर्यटकहरुलाई ह्यासलिङ्ग गर्न नपाउने , पर्यटन क्षेत्रको बाटोहरुमा सवारीसाधन पार्किङ्ग गर्न नपाउने , होटलहरुमा अनिवार्य रुपमा पर्यटकको परिचय खुल्नेगरी इन्ट्रि बुक राख्ने लगायत १४ बुदे आचाँरसंिहता रहेकोे छ ।