एआईजी बमका छोरा कुट्ने प्रहरीमाथि कारवाही

काठमाडौ, १३ चैत । नेपाल प्रहरीका एआईजी कमलसिंह बमका छोरामाथि कुटपिट गरेको अभियोग लागेका इन्सपेक्टर सहित तीन जना प्रहरीलाई कारवाही हुने भएको छ ।
एआईजीका जेठा छोरा सुगमलाई गएको चैत २ गते ठमेलबाट पक्राउ गरि महानगरीय प्रहरी वृत्त दरबामार्गमा राखिएको थियो । त्यसपछि आफूमाथि कुटपिट भएको भन्दै सुगमले प्रहरीमा निवेदन दिएका थिए । एक रात प्रहरी हिरासमतमा बसेका उनलाई बिहान आमाको रोहबरमा छोडिएको थियो ।
उनको निवेदनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी रामकृपाल शाह नेतृत्वको छानबिन समितिले वृत्तका इन्सपेक्टर डिबी लिम्बूसहित दुई जना जवानलाई कारवाही सिफारिस गरेको हो ।
ठमेलमा ट्याक्सी चढ्ने क्रममा विवाद भएको विषयलाई लिएर प्रहरीले कुटपिट गरेको पाइएको छ । कुटपिटबाट सुगमको अनुहारमा चोट लागेको थियो ।
मादक पदार्थ प्रयोग गरेका सुगमले प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ । छानबिन समितिले घटनामा सुगम निर्दाेष रहेको र दरबारमार्ग वृत्तका प्रहरीको गल्ती देखाएको हो । समितिले सोमबार प्रतिवेदन बुझाएको छ ।
इन्सपेक्टर लिम्बूलाई प्रहरी मुख्यालयले २ नम्बर गणमा तानिसकेको छ । वृत्तका २ जवानलाई पनि महानगरीय प्रहरी कार्यालय त्यहाँबाट हटाएर कारबाही सुरु गरेको छ । प्रहरीले कुनै पनि घटनामा कुटपिट गर्न नपाउने भएकाले घटनामा प्रहरीको गल्ती देखिएको एसएसपी शाह नेतृत्वको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।