एसइई परीक्षा : देशभर शान्तिपूर्ण

भक्तपुर, चैत ८
माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ ।
बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ । यस वर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षामा प्रत्येक केन्द्रमा एकजना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित भएको रेग्मीले बताए । साधारणतर्फको परीक्षा १७ गते तथा प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सन्चालन हुनेछ ।