नारायणगढ–मुग्लिन सडकखण्डको मिति फेरी थपियो


बहुचर्चित एव आमप्रतिक्षित नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति फेरीपनि थप गरिएको छ । सरकारले नारायणगढ–मुग्लिन सडकखण्डको मिति फेरी तीन महिना थप गरेको हो ।
विभिन्न समयमा काम गर्न नपाएको बाहानाबाजी गर्दै निर्माण कम्पनीले कामको समय लम्ब्याउदै मिति थपको माग गर्दै आएका थिए । उनीहरुले करिब ३ बर्षसम्म अझैं मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
यो सडकखण्ड सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी लगाएतको कारण देखाउदै मिति थप गरिँदै आएको थियो । यसअघि तेस्रो पटक थपिएको मिति गत फागुन दोस्रो साता सकिएको थियो । स्वीकृतिका लागि विभागमा पठाइएको भए पनि विभागले बुधबार मात्रै मिति थपको स्वीकृति प्रदान गरेको खनालले बताए । परामर्शदाता कम्पनीले गरेको सिफारिसअनुसार मिति थप भएको हो । हालसम्म उक्त आयोजनाका ८२ प्रतिशत काम भएको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर खनालका अनुसार ३३।२ किलोमिटरमध्ये २४।५ किलोमिटर सडक कालोपत्रे भएको छ ।मुलुककै लाईफलाईनको रुपमा रहेको राजधानी काठमाडौँ र पोखरा जस्ता ठूला शहरलाई तराईसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको सडकखण्डको निर्माणमा एकातिर नियतबश ढिलाई भईरहेको चौतर्फी आलोचना हुँदै आएको भएपनि पटकपटक म्याद थप हुनुले सरकारी कर्मचारीहरुकै मिलेमतोमा सडक निर्माणमा लापरबाही र ढिलाई भएको होईन भन्ने आम आशांका बढेर गएको छ ।