विवादित प्रधानन्यायाधीश पराजुली अन्तत् : पदमुक्त
३० फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका विवादित प्रधानन्यायाधीश गोपाल पराजुली अन्तत् : पदमुक्त भएका छन् ।
नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।
पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ ।
न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा पराजुलीले २१ साउनमा नै अवकास पाएको देखिएको परिषद्ले जनाएको छ । लगतै सचिवस्तरीय बैठकबाटै पराजुलीलाई पदमुक्त भएको पत्र काटिएको छ ।
न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।
के हो उमेर विवाद ?
पराजुली पछिल्लो समय जन्ममिति विवादमा परेका थिए । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले पराजुलीको जन्ममिति २००९ कायम गरेको थियो ।
सर्वोच्चले उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्नेतको उमेरबारे कार्कीले गरेको निर्णय उल्टाएपछि न्याय परिषद्ले पराजुलीको पनि नयाँ जन्ममिति १६ वैशाख २०१० लाई मान्यता दिएको थियो ।
तर, न्याय परिषद्को निर्णयका बाबजुद पराजुलीको उमेर विवाद सुुल्झिएन । पराजुलीलाई बर्खास्त गर्न माग गर्दै डा. गोविन्द केसीले अनसन समेत बसेका थिए ।