भ्रष्टाचार विकासको वाधक : गृहमन्त्री थापा
भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने
काठमाडौँ । भ्रष्टाचार नै विकासको वाधक रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म समृद्धी नआउने बताएका छन् । “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,” उनले भने ।
मगर समुदायबाट गृहमन्त्री बनेका थापाले मुलुक निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार भनेपाउन नसकेको दुःखेसो ब्यक्त गरेका थिए । “राज्यको नेतृत्व तहमा मगर समुदायले केही अधिकार पाए पनि अरू स्थानमा अधिकार कम छ,” उनले भने ।
गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताए । उनले अगाडी थपे दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने छ ।
नेपाल मगर संघका सल्लाहकार बमकुमारी बुढामगरले खस आर्यपछिको ठूलो समुदायका रुपमा रहेको आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको बताइन् ।
नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले झण्डै १९ लाख जनसंख्या भएको मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सरकारले मान्यता दिनुपर्ने माग गरे ।
सम्मेलनमा पूर्वका मगर समुदायको हुर्रा नाच, पश्चिम मगर समुदायको कौरा, सोरठी, सालैजो नाच र मध्यपश्चिम तथा सुदूरपश्चिमका मगर समुदायको भूमिया नाच प्रस्तुत गरिएको थियो ।