थारु बस्तीमा सय वर्ष पुराना ऐतिहासिक फोटोहरु सङ्ग्रहित


चितवन । पुर्वी चितवनको सौराहा नजिकैको थारु बस्तीमा रहेको थारु सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रमा सय वर्ष पुराना ऐतिहासिक फोटोहरु सङ्ग्रहित गरिएको छ । सो संग्राहलयलाई अझ प्रभावकारी र मजबुत बनाउन थारु समुदायसँग जोडिएका १०६ वर्ष पुरानो फोटोहरु राखिएको संग्राहलयका अध्यक्ष बिरेन्द्र महत्तोले बताए । अध्यक्ष महत्तोका अनुसार त्यहाँ १०६ वर्ष पहिले ब्रिटिस तथा राणाकालीन राजाहरुले चितवनको जंगलमा शिकार गरेको, मलेरिया उल्मुलन हुनु अघिको चितवनको अवस्था र उल्मुलन भएपछि पहाडबाट तराई झरेका समुदायको चित्रण गरिएका एतिहासिक फोटोहरु संग्रहालयमा राखिएको छ । ती फोटोहरु सङ्ग्रहालय ले खरिद गरेको हो । दीर्घमान फाउण्डेशनका किरण चित्रकार र अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयले उपलब्ध गराएका ४८ वटा ऐतिहासिक महत्वका फोटोहरु संग्रहालयमा राखिएको छ । सन् १९११ को दशकमा चितवन निकुञ्ज राणाकालमा चितवन शिकार आरक्ष र आधुनिक शाही शासनकालमा तराई जैविक विविधताको नामले परिचित थियो । त्यो समयमा चितवनका थारु समुदायले नियन्त्रणमा लिएर पालेका जंगली हात्तीमा चढेर राणाकालीन तथा शाहबंशीय राजाहरुले चितवन आएर शिकार गर्ने चलन रहेको थियो । त्यो बेला खिचिएका दुर्लभ तथा ऐतिहासिक फोटोहरु संंग्रहालयमा राखिएको संरक्षक बासुदेव चौधरीले जानकारी दिए । थारु भाषा र संस्कृतिको अनुसन्धान गरिरहेका अमेरिकी अनुसन्धनकर्ता टम रोबर्टशनले चितवनको इतिहास सँग थारु समुदायको इतिहास जोडिएको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा हरियाली युवा क्लब बछौलीले २०५८ सालमा सो सङ्ग्रहालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । थारु समुदायले विवाह, मृत्यु संस्कार देखि दैनिक काममा प्रयोग गर्ने ढिँकी, जाँतो गाडा लगायतका सामग्रीहरु राखिएको संरक्षक बासुदेव चौधरीले बताए । चितवन को पर्यटन निकुञ्ज र थारु संस्कृतिसँग निर्भर रहेको छ । संग्रहालयको अवलोकनको लागि विदेशी पर्यटकले ५० र स्वदेशी पर्यटकले ३० रुपैयाँको टिकटको व्यवस्था मिलाइएको छ । फोटो खरिदका लागि नेपाल पर्यटन बोर्डले आर्थिक सहयोग गरेको थियो ।