शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्नेमा प्रमुख दाहालको जोड
सोमबार, ०७ फागुन
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्ने बताएकी छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याबसन) चितवनको वार्षिक साधारण सभालाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
शिक्षाको गुणस्तरबिना नागरिकको स्वास्थ्य र सभ्यताको कल्पना गर्न नसकिने बताउँदै महानगर प्रमुख दाहालले अबको आवश्यकता शिक्षाको गुणस्तर विकास भएको धारणा राख्दै उनँले शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्नेमा जोड दिएकी थिईन् ।
निजी विद्यालयहरू नाफामूलक मात्र नभई सेवामूलक हुन सुझाव दिँदै उनले निजी विद्यालयहरू आमनागरिकको पहँुचमा हुनुपर्नेमा जोड दिएकी थिईन् ।सम्बोधनको क्रममा महानगर प्रमुख दाहालले निजी विद्यालयहरूले विभिन्न नाममा शुल्क वृद्धि गर्छन् भन्ने नागरिकरूको गुनासो आउन नदिने गरी भोलिका दिनमा अगाडि बढ्न आग्रह समेत गरेकी थिईन ।
प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा संस्थाका सल्लाहकार लेखनाथ खनालले निजी विद्यालयहरूको अवस्था, अवसर, भोलिको चुनौती र यसमा देखिएका समस्याहरूको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्याब्सन चितवनका पूर्वअध्यक्षहरु केशव श्रेष्ठ, बेलबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा बर्षभरी संस्थाले गरेका विभिन्न कार्यक्रममा उत्कृष्ट भएका विद्यालय र विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । चितवनमा रहेका १ सय ७० वटा निजी विद्यालयहरुमा ७५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने चार हजारको हाराहारीमा शिक्षक, कर्मचारी कार्यरत रहेको आकंडा छ ।