जगदम्बा पेट्रोल पम्प हत्याकाण्डका फरार अभियुक्त सात वर्षपछि पक्राउ


चितवन, ७ फागुन ।
चितवनको भरतपुर १ स्थित रामनगरमा रहेको जगदम्बा पेट्रोल पम्पमा सात बर्ष अगाडि लुटेराले हानेको गोली लागी निधन भएका म्यानेजर भरत घिमिरेका हत्यारालाई अन्तत ःप्रहरीले पक्राउ गरेको छ । उक्त हत्याकाण्डका फरार अभियुक्त गोरखाको साविक धावा गाविस वडा नं.१ घर भई ताप्ले–३ बस्ने वर्ष ४६ का श्याम नेपाली भनिने रोकाहा लाई शुक्रबार गोर्खाबाट नियन्त्रणमा लिएको हो ।
रोकाहा सहितको समूहले २०६७ चैत्र २३ गते बिहान ४ः४५ बजेको समयमा घिमिरेलाई गोली हानी हत्या गरी पेट्रोल पम्पमा भएको नगद तथा धनमाल डाँका गरी फरार भएका थिए ।
सो घटनामा संलग्न मध्ये विजय भनिने राम बहादुर तामाङ,सुनिल गुरुङ र विनोद भनिने भेष बहादुर थापा सोही समयमा पक्राउ परी चितवन कारागार पठाईएपनि रोकाहा प्रहरीको आँखा छल्दै भागेका थिए । २०७३ असार २७ गते चितवन जिल्ला अदालतले कारवाहीका लागि श्यामलाई खुनडाँका मुद्दामा २०६९ फागुन १० गतेको फैसलामा मुल्तवीमा रहेकोले कारवाही हुने र हातहतियार खरखजना मुद्दाको फैसलाबाट ३ वर्ष कैद र २० हजार रुपैयाँ सजाय तोकेको थियो । त्यसलगत्तै उनी लामो समयदेखि फरार हुँदै आएका थिए ।
उनी सँगै सो काण्डमा सम्लग्न अर्का हत्यारा सिन्धुली जिल्लाको साविक महादेवस्थान गाविस वडा नं.४ बस्ने वर्ष ३१ का अर्पण भनिने उमेश माझी हाल सम्म फरार रहेको र खोजी कार्यलाई तीव्रता दिएको चितवन प्रहरीका प्रवक्ता शिव आचार्यले जानकारी दिएका छन् ।
शुक्रबार पक्राउ परेका श्यामलाई आईतबार चितवन जिल्ला अदालतमा बुझाई अदालतको आदेश अनुरुप चितवन कारागार कार्यालयमा थुनामा पठाईएको प्रहरीले जानकारी दिएको छ ।