बिद्यालय स्तरोन्नतिका लागी पदमपुरमा धनधान्याञ्चल महायज्ञ सुरु ।
चितवन माघ २४ । पुुुुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ३ पदमपुरमा आजबाट धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्नका लागीे आध्यात्म रामायण धनधान्याञ्चल महायज्ञ सुरु गरिएको हो । महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले धर्म र संस्कृतीको जगेर्ना गर्दै महायज्ञको आम्दानीबाट संकलित रकम सामाजिक विकासमा खर्चिनु महत्वपूर्ण काम भएको बताएका छन् । हिन्दु धर्म देशकै महत्वपूर्ण धर्म रहेको भन्दै डल्लाकोटीले धार्मिक संस्कारबाट मानिस अनुशासनमा रहने र व्यक्ति, घर तथा समाज पनि विकसित हुँदै जाने बताए । कार्यक्रममा कालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख विनोद रेग्मीले धर्म संस्कृतिको जगेर्ना गर्दै यसको माध्यमबाट सामाजिक काम हुनु प्रशंसनीय भएको बताउदै धनधान्याञ्चल महायज्ञ मार्फत विद्यालयको स्तरोन्नती र विभिन्न सामाजिक कामको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । मूल समारोह समितिका संयोजक केशब अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजाल, सचिवालय सदस्य दिवस पाण्डे, पुर्वीचितवन पत्रकार महासंघका अध्यक्ष होमनाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो महायज्ञ आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञबाट करीब १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । संकलित रकमबाट स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्नुका साथै ज्योतीविन्दु मुक्तेश्वर महादेवको मन्दिरको जीर्णोद्वार समेत गरिने आयोजकले जनाएको छ ।