गुणस्तरीयहिन हिमालचुली पाउरोटी उद्योगमा प्रशासनको शिल
चितवन , माघ १४ .
पूर्वी चितवनको खैरहनी–९ मा रहेको ओम श्री हिमालचुली पाउरोटी एण्ड स्पेसल बेकरी उद्योगको उत्पादन गुणस्तरहिन रहेको भेटिएको छ । साथै सो उद्योगले बालश्रम शोषण गर्ने गरेको समेत भेटिएको छ । उद्योगले सानासाना बालकलाई काममा लगाउने गरेको भेटिएको र निकै फोहोरो स्थानमा पाउरोटी उत्पादन गर्ने गरेको देखिएकोले उद्योगमा शिल गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले जानकारी दिए । उद्योगले उत्पादन गरेका पाउरोटी जन्य परिकार गुणस्तर हिन भएकाले उद्योग शिल गरिएको शर्माले बताएका हुन् । बजार अनुगमन अधिकृत शर्माको नेतृत्वमा पुगेको बजार अनुगमन टोलीले पाउरोटी उद्योग निकै फोहोर, लेवल बिना नै पाउरोटी बजारमा पठाउनुका साथै बालश्रमको समेत प्रयोग गरेको भेटिए पछि उद्योग बन्द गराउनु परेको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रबिण तिवारीले बताए ।
उद्योगको अबस्था हेर्दा बंगुरको खोर जस्तो देखिएको , उपभोक्ता स्वास्थ्यको कुनै ख्याल नगरी उद्योग सन्चालकले निकै लापरबाही तवरले पाउरोटी उत्पादन गर्ने गरेको र उत्पादन र उपभोग्य मिती नै नराखी बजारमा पाउरोटी पठाउने गरेको देखिएकाले आफुहरुले कारबाहीको प्रक्रिया अगाडी बढाएको तिवारीले बताए । तिवारीका अनुसार उद्योगलाई मुद्धा समेत चलाईने छ । उद्योगका संचालक अनिल कुमार शर्मालाई उद्योगमा टायल लगाएर उद्योगको अवस्था सुधार गरी जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर मात्रै उद्योग संचालन गर्न निर्देशन दिएको शर्माले बताए। आवश्यक प्रक्रिया पुरा नगरी उद्योग सन्चालन गरेमा प्रहरी लगाएर सन्चालकलाई पक्राउ गरिने शर्माले चेतावनी दिए ।