प्रदेश केन्द्र र प्रमुख चयनप्रति एमाले रुष्ट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र केन्द्र तोक्न सरकारलाई सहमति दिए पनि तोकिएको स्थान र व्यक्तिप्रति पार्टीको असहमति रहने बताएका छन्।
स्वास्थ्य परीक्षण सकेर बैंककबाट आज बिहिबार काठमाडौं ओर्लिएपछि ओलीले प्रदेश केन्द्र र प्रमुख तोक्ने काम सरकारको भएकाले तोक्न सहमति दिएको बताएका हुन् । तर, तोकिएको स्थान र व्यक्तिप्रति सहमति नरहेको उनको टिप्पणी थियो ।
‘प्रदेश मुकामको विषयमा अल्झिरहनु पर्दैन। पछि प्रदेश सभाले टुंगो लगाउँछ,’ओलीले भने, ‘हाम्रो सुरुदेखि नै अध्यादेशमा असहमति थियो । सरकारले लुकाएर असंवैधानिक रुपमा त्यसलाई ल्याएको हो।’
सपथ ग्रहण सम्बन्धमा समेत नयाँ म्यान्डेट आइसकेकाले सरकारले तय गर्ने प्रदेश प्रमुखबाट सपथ ग्रहण नगर्ने घोषणा गरेको एमाले अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्केपछि भने टोन फेरेका छन । ‘सरकारले बलजफत गरेमात्र सपथ नगर्ने भनेका हौं,’ ओलीले भने।
पार्टी एकीकरण सम्बन्धमा पनि फेरियो ओलिको बोली
उपचारका लागि थाइल्यान्ड जाँदै गर्दा ओलीले भनेका थिए – १५ दिनभित्र पार्टी एकता हुन्छ। फर्केर आउँदा पत्रकार ऋषि धमलाले त्यही प्रश्न गरे । उत्तरमा ओली हल्का शैलीमा उत्रिए र उल्टै सोधे(
‘मैले १५ दिन भनेको हो र ?’
उनले आफूले छोटो समयमात्र भनेको बताए । ‘गृहकार्य भइरहेको छ । सकेसम्म छिटो हुन्छ,’ ओलीले भने, ‘यसमा आशंका र आश गर्ने दुवैले गर्न भएन ।‘
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका ओलीले भने।
लोकतन्त्रलाई अपव्याख्या गर्ने गरी सरकारले काम गरेको आक्षेप लगाउँदै उनले संक्रमणकालको अन्तिममा त्यसको अपव्याख्या भएको जिकिर गरे। सरकारले जनताको अभिमतको सम्मान नगरेको उनको पुरानै धारणालाई आज पनि व्यक्त गरे।
‘सरकार बनिसक्नुपर्ने जनादेश आइसकेपछि पनि त्यसलाई गलत मनासय राखेर प्रयोग गर्नु लोकतान्त्रिक अभ्यास होइन,’ ओलीले भने।
उनलाई लिन विमानस्थलमा वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सुवास नेम्बाङ लगायतका नेता पुगेका थिए।