चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन
चितवन, पुस २०–
चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन अन्तरगत आज (विहीबार) सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेद्वारी परेको हो । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै ६ जना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीन जना एशोसियट्स सदस्यहरु सर्वसम्मत चयन भएको छ ।
संघको ६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
यसैगरि खुल्ला सदस्यहरुमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज ओस्ती, पोखरेल मदनचिरञ्जीवि, राशी लामा, जितबहादुर हमाल सर्वसम्मत चयन हुुनु भएको छ । यस्तै वस्तुगत तर्फ ताराबहादुर कार्की, एशोसियट्स तर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिनुभयो । यस्तै प्रिमियर एशोसियट्समा उम्मेद्वारी नपरेकोले खुल्लाबाट पदपुर्ती गरिएको छ । खुल्ला तर्फ प्रकाश चन्द्र भट्टराईले उम्मेद्वारी फिर्ता लिनुभएको थियो । अब दुई जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको छ । त्यससंगै संघको २५ सदस्यीय कार्यसमिति चयन गरिने छ ।
सबै पदमा सर्वसम्मत भएकोले भोली निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्ने समितिका सदस्य गोविन्दप्रसाद पौडलले जानकारी दिनुभयो । निर्वाचन प्रक्रिया आज विहान ८ बजेबाट सुरु भएको थियो ।
यस्तै संघको वरिष्ठ उपाध्यक्ष भने गर्भनिङ काउन्सिलले चयन गर्नेछ । ६ जना उपाध्यक्ष मध्ये एक जनालाई एक वर्ष भित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गर्भनिङ काउन्सीलले ६ महिनादेखि एक वर्ष भित्रमा उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गर्नेछ । संघप्रतिको बढि जिम्मेवारी बहन गर्ने व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष तोक्ने गर्भनिङ काउन्सीललाई अधिकार प्रदान गरिएको छ । अहिले गर्भनिङ काउन्सीलको संयोजक ताराप्रसाद पौडेल रहनुभएको छ ।
यसैगरि भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रको सभाहलमा भोली (शुक्रबार) हुने संघको १८ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनको पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष भीमबहादुर पाण्डेले जानकारी दिनुभयो ।