निर्वाचन बिरोधी गतिविधिमा संलग्न डेढ दर्जन प्रहरी नियन्त्रणमा


चितवन , मंसिर १२ । निर्वाचनको मिती नजिकिँदै गर्दा चितवनमा निर्वाचन विरोधी गतिविधी समेत उत्तिकै बढेका छन् । बितेको १० दिनमा जिल्लाका विभिन्न स्थानहरूमा बमहरु फेला परेपछि सर्वसाधारण आतंकित बनेका छन् । प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे रत्ननगरपालिका– २ स्थित राप्रपाका उम्मेदवार पीताम्बर आचार्यको ना.१ज ५२७५ नम्बरको गाडीमा आगजनी प्रयास भएको थियो । मट्टीतेल छर्केर आगो लगाउँदै गरेको अवस्था मा उम्मेदवार आचार्यले आगो निभाएका थिए । आगजनीबाट गाडीको पछिल्लो भागमा क्षति पुगेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेकपाका कार्यकर्ता गञ्जसिंह गुरुङलाई पक्राउ गरेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । यस्तै, आइतबार राति ९ बजे पनि कालिका नगरपालिकामा शक्तिशाली बम विस्फोट भएको थियो । त्यस्को पाँच दिन अगाडि खैरहनी नगरपालिका स्थित चैनपुरमा क्षेत्रमा बम विस्फोट भएको र एक हप्ता अगाडि वनमन्त्री विक्रम पाण्डेको भरतपुरस्थित निवास नजिक आतंकित पार्ने उद्देश्यले बम राखिएको थियो । यी घट्नाहरुमा कसैको मानवीय क्षती नभए पनि स्थानीय भयरहित बाताबरणमा बस्न अझै सकेका छैनन् । प्रहरीका अनुसार उम्मेदवार र सर्वसाधारणलाई त्रसित पार्न विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ताहरु सक्रिय भएर लागी परेको बताए । उता, जिल्ला प्रहरी कार्यालय चितवनले हालसम्म नेकपाका १८ जना कार्यकर्तालाई पक्राउ गरिसकेको जनाएको छ । दैनिकजसो विप्लवका कार्यकर्ता प्रहरी नियन्त्रणमा परे पनि चुनाव विरोधी गतिविधिमा कमी आउन सकेको छैन । प्रहरीले नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसीसहितका नेता तथा कार्यकर्ताहरु अहिले सार्वजनिक अपराध अन्तर्गतका मुद्दामा हिरासतमा रहेका छन् । उता, अवैध हतियार सहित नेपाल कम्युनिस्ट पार्टी विप्लवका मजदुर फ्याक्सन इन्चार्ज एवं जनसत्ता सदस्य पूर्वेली कान्छा पुरन राई भनिने पूर्णबहादुर राईलाई सोमबार भरतपुरबाट अवैध हातहतियार, गोलीसहित पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनको घर खोटाङ केपिलासगढी गाउँपालिका– ७ भए पनि भरतपुर महानगर–१६ मा बस्दै आएका थिए । यसअघिको स्थानीय निर्वाचनताका पनि राई पक्राउ परेका थिए । उनको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने कार्टिज एक थान, पटाका ,आलु बम १० थान र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनको चन्दा रसिद एक ठेली बरामद भएको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभु प्रसाद ढकालले बताए । व्यापारी तथा सर्वसाधारणलाई फोन गरी धम्की दिई रकम माग गरेको आरोपमा प्रहरीले सोमबार दुईजनालाई पक्राउ गरेको छ । भरतपुर– ११ बस्ने ३३ वर्षीय अमित लामा र भरतपुर– १० बस्ने ३६ वर्षीय सचिन गुरुङलाई पक्रेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । यस्तै, आइतबार राति भरतपुर– १० भरतपुर ओरालोबाट खुँडा देखाई सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा भरतपुर– २ बस्ने १७ वर्षीय राजन परियार र २० वर्षीय राजेन्द्र परियारलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ ।