क्यान्सर अस्पतालको वार्षिकोत्सव प्रचण्डले उद्घाटन गर्ने
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको १८ औं वार्षिकोत्सव तथा १३ औं राष्ट्रिय क्यान्सर सर्तकता दिवस–२०७४ को पूर्व प्रधानमन्त्री एवंम माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्नुहुने भएको छ ।
अस्पतालले आज पत्रकार सम्मेलन गरि यही असोज १० गते मनाउन लागिएको वार्षिकोत्सव समारोह बारे जानकारी दिएको हो । वार्षिकोत्सव कार्यक्रम अन्तरगत असोज १० गते नै अस्पतालको प्राङगणमा राष्ट्रिय झण्डा झण्डोत्तलन, अस्पतालको झण्डा झण्डोत्तलन, अस्पतालको प्राङगणमा वीपीको शालिकमा माल्यार्पण, अस्पतालको अवलोकन तथा निरीक्षण, नवनिर्मित भवनको नयाँ वार्ड समुद्घाटन, अस्पतालका वरिष्ठ कर्मचारी तथा चिनियाँ मेडिकल टिमसंग भेटघाट कार्यक्रम रहेको अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले जानकारी दिनुभयो ।
यसैबीच वार्षिकोत्सवको अवसरमा आज अस्पतालले प्रदान गरिरहेको सेवा र समस्याका बार संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा संचारकर्मीहरुले क्यान्सर अस्पतालमा देखिएको बेथितिका बारेमा जिज्ञाशा राखेका थिए । क्यान्सर अस्पतालको नयाँ कार्यकारी निर्देशकको रुपमा डा.विजयचन्द्र आचार्य नियुक्त भएपछि अस्पतालमा देखिएका सुधारका बारेमा जानकारी गराईको थियो ।
अस्पतालका निर्देशक डा.आचार्यले आफू पद सम्हालेपछि केही सुधारका प्रयासहरु गरिएको बताए । उनले रेडियोडायग्नोसिस तथा न्यूक्लियर मेडिसिन विभाग अन्तरगत धेरै सुधार रहेको जनाए । डा.आचार्यले अत्याधुनिक एमआरआई सेवा अवरुद्ध भइरहेको अवस्थामा तत्काल सुचारु गरिएको, एक्स रे सेवा आंशिक रुपमा संचालन भईरहेको अवस्थामा हाल पूर्ण रुपमा संचालनमा ल्याइएको, ममोग्राफी सेवा बन्द रहेकोमा हाल पूर्ण रुपमा संचालनमा ल्याइएको जानकारी दिए । उनले अन्य विभिन्न सुधारका कामहरु भईरहेको र विगतको जस्तो क्यान्सर अस्पताल अब नरहने दावी गरे ।
कार्यक्रममा बोल्दै अस्पताल संचालक समितिका अध्यक्ष डा.प्रकाशराज न्यौपानले सबैको सहयोगमा अस्पताल सुधार हुँदै जाने बताए ।