प्रहरी प्रमुख फेरिए पनि अबैध रकम असुली कार्य अझै रोकिएन
एक प्रहरी निरीक्षक सहित असई कार्वाहीमा
बिरगंज÷मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाका प्रहरी नायब महानिरीक्षक गणेश केसीले पदिय मर्यादाविपरीत प्रहरी संगठनमाथि आँच आउने क्रियाक्रलाप गरेको भन्दै एक प्रहरीलाई निलम्बन सहित दर्जनौं प्रहरीलाई कारबाही गरेर वाहीवाही कमाए । लामो समयदेखि तोकिएको दरबन्दीमा नजाने प्रहरीलाई रमाना दिएर तत्कालै आफ्नु क्षेत्रमा पठाउन समेत केसीले ठुलै भुमिका खेले । बदनाम, ठग, भ्रष्ट कर्मचारीलाई यथास्थितिमा कार्वाहीको दायरामा ल्याउन समेत कुनै कसुर बाँकी राखेनन् । केसीले केही ठाउँमा त झन् घुमुवा प्रहरी नै नराख्नु भनी निर्देशन दिए तर, उहाँको निर्देशनलाई कुनै प्रहरीले मानेका छैनन् । आफ्नु स्वार्थ पूरा गर्न प्रहरीले के के सम्म गर्दो रहेछ भन्ने तथ्य यस अगाडिको शृङ्खलामा छताछुल्ल पारिसकेका छौँ । डिआइजी केसीको मध्यक्षेत्रमा आगमन भए संगै केही हदसम्म सुधारकासंकेतहरू पनि देखापरे , प्रहरी संगठन भित्रै पनि ठुलै भुइँचालो आए तर, पनि दुर्भाग्य नै भन्नुपर्छ अझै पनि दरबन्दी अन्यत्र भएका केही प्रहरीहरुले खुलेआम रूपमा छरपस्ट हुने गरी अबैध कार्यलाई जारी राखेका छन् । विशेष सूचनाका आधारमा भण्डाफोर साप्ताहिकको प्रतिनिधि बिहीबार मध्यान्ह पुनः बारा , पर्सा र रौतहट जाँदा यस्तै प्रकृतिको दृश्य देखियो । केही हदसम्म नियन्त्रणमा आएको घुसखोरी काण्ड फेरी मौलाएको छ । प्रहरीले घुमुवा राखेको छैनन् भन्ने तर, खुलेआम रूपमा पैसा असुल्ने गिरोहहरु अझै पनि छरपस्ट रूपमा रहेका छन् । यसैमध्यका एक प्रतिनिधि पात्र हुन् असई तेजप्रताप सिंह उनको दरबन्दी पर्सा जिल्लामा होईन तर, पनि लामो समयदेखि यस क्षेत्रमा टाइगर टोलीको रूपमा बिरगंजको पर्सामा खटिएका छन् । वीरगञ्जमा घुमुवाका रूपमा कार्यरत रहेका उनले व्यापारीदेखि तस्करहरूसँग अबैध सम्बन्ध गाँसेर खुलेआम रूपमा पैसा उठाउने कार्यलाई अझै पनि यथावत नै राखेका छन् । त्यस्तै, बारा दरबन्दी भएका अर्का असई मित्र राईको अवस्था पनि लगभग उस्तै उस्तै छ । सिपाहीमा प्रवेश गरे देखि नै वीरगञ्जमा कार्यरत उनी यहाँका लामो समय कार्यरत प्रहरी मध्य गनिन्छ । राईले यहाँका व्यापारीदेखि तस्करसँग खुलेआम रूपमा रकम असुल्ने कार्य गर्दै आएका छन् । त्यस्तै , अर्का सई रूपेश झाको दरबन्दी पनि अन्यत्र छ तथापि उनले लामो समयदेखि वीरगञ्जमा रहि पैसा उठाउने कार्य गरिरहेका छन् कुनै बेलाबखत उजुरी शाखामा रहँदा बदनामी कमाएका झा माथि गुनासोको ठेली पर्दा समेत सामान्य स्पष्टीकरण समेत सोधिएनन् । त्यस्तै, बारा दरबन्दी भएका अर्का असई गोपाल खड्काले पनि लामो समय देखि वीरगञ्जमा बसी रकम उठाउने कार्य गरिरहेका छन् । त्यस्तै , सिन्धुलीमा दरबन्दी भए पनि बाराको गञ्जभवानीपुरको प्रमुख रहेका राजेश जयसवालको अवस्था भने चिन्ताजनक छ । शक्तिकेन्द्रलाई रिझाएकै भरमा पटेलले जिल्लामा आतंक नै मच्चाउने गरेको स्रोतले जनाएको छ । यसअघि गण्डकमा एक वर्ष प्रमुख भई बसेका बेला असई राजेश पट्टेलले करोडौँ रूपैयाँ व्यापारी र तस्करहरूसँग अबैध पैसा असुल्ने गरेको आरोप अझै पनि ताजै छ । पटेलले बाराका एसपी नरेन्द्र उप्रेतीको प्रत्यक्ष मिलेमतोमा अबैध रकम असुल्ने गरेको बुझिएको छ । उप्रेती यस भन्दा अगाडि सुपारी तस्करीको आरोपमा क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरले कारबाही गरिसकेको ब्यक्तिका रूपमा गनिन्छ । तथापि, उनी अहिले सम्म सुध्रिएका छैनन् । त्यस्तै, सई गजेन्द्र शाहीको समेत दरबन्दी पर्सा जिल्लामा छैनन् । यद्यपि , उनलाई तत्कालीन एसपी गोबिन्द साहले काखी च्यापेर राखेपछि उनको मनोमानीले सिमा नाघेको छ । त्यस्तै, भिस्वा नाकामा सई विनयकुमार सिंहले पनि धेरै वर्षअघि देखि वीरगञ्जमा कार्यरत रही मनलाग्दी पैसा उठाउने गरेका छन् । त्यस्तै , आफू कार्वाहीमा पर्ने चाल पाएपछि तत्कालीन पर्साका एसपी गोबिन्द साहले केही बदनाम प्रहरीलाई ईन्चार्जका रूपमा खटाएको थाहा भएको छ । ईन्चार्ज भई खटिने हरुमा अमरपट्टी असई सुरेश साह, बरथर्वा असई राजेश तिवारी, लगडिव सई श्री नारायण पण्डित, सुगौली बिर्ता सई रामराजा , सिर्सिया स्थित ड्राइपोर्ट असई धर्मेन्द्र सिंह, गण्डक सई प्रेम मिश्र, बुडगाई बोर्डर असई पवन झा, पसौनी भाटा असई अनिल महतो, इनर्वा असई ज्ञानबहादुर श्रेष्ठ, टीउकी असई भाग्यनारायण यादव, एकटागा सई लक्ष्मण गौतमलाई प्रमुखका रूपमा मातहतमा खटाएपछि उनीहरुले त्यहाँ अबैध असुली गरिरहेका छन् । अर्का सई रुपक मैनाली को हबिगत पनि उस्तै छ । असईबाट सईमा बढुवा भएका मैनालीको दरबन्दी हाल रानीपोखरी मेट्रोमा परेको छ तर, उनी पनि शक्तिकेन्द्रलाई रिझाएकै भरमा हाल ईलाका प्रहरी कार्यालय परवानीपुरको प्रमुख बन्न सफल भएका छन् । असई पदमा हुँदा क्षेत्रीय प्रहरी कार्यालयमा सेटिङ मिलाएर झन्डै चार वर्ष वीरगञ्जमा रहेका उनले त्यहाँ पनि अबैध पैसा असुले भने झन्डै एक बर्ष अगाडि वीरगञ्जको ट्रान्सपोर्ट हेर्ने एफटीएफ स्थित चौकीको प्रमुख रहेका उनले त्यहाँ हुँदा मासिक १० लाख रूपैयाँ बुझाउने सर्तमा टेण्डर मार्फत् उक्त ठाउँ प्राप्त गरेको चर्चा अझै पनि चल्ने गरेको छ । त्यस्तै, काठमाडौँको गौशालामा जम्मा २ महिनामात्रै बसेर बारा पुगेका असई जयगोविन्द प्रसाद राउतको अवस्था पनि उस्तै छ । यतिसम्म कि बारा जिल्लाबाट हुने तस्करी देखि अन्य ब्यापारी व्यवसायीहरूलाई समेत अनावश्यक दुःख दिने, सामान पक्राउ गर्ने धम्की दिँदै रकम असुल्ने, जिल्लाका हाकिमहरु लाई पैसा बुझाउनुपर्ने भन्दै उनले आतंक नै मच्चाउने गरेका छन् । यस्तै, कार्यमा हतोत्साहित बनेका कुर्मीले वीरगञ्जमा ८० लाखको घडेरी समेत किन्न सफल भएका छन् । वीरगञ्जको प्रमुख भन्सारसँगै रहेको बाराको वीरगञ्ज भन्सार भनेर चिनिने मुसरहर्वा्स्थित चौकीमा एक वर्ष बसेका उनले तस्करी गराई जम्मा गरेको रकमले रौतहट को शीतलपुरमा समेत जमिन खरिद गरेका हुन् । भने एक महिनाअघि मात्रै तस्करहरूसँग रकम मागेर नै नयाँ पल्सर मोटरसाइकल किनेका छन् । रौतहटको शीतलपुर बर्गे्नियामा सामान्य परिवार मा हुर्किएका कुर्मी लामो समयदेखी बारामा बसेर तस्करदेखि व्यापारीसँग अबैध रकम असुलीरहे पनि उनी माथि कसैले सामान्य स्पष्टीकरण समेत सोधिएको पाइदैन । बब्लु ठाकुर नाम गरेका असईले अहिले धनुषामा बसी धनुषा, महोत्तरी र सर्लाहीका व्यापारीहरूबाट खुलेआम रकम असुल्ने गरेको भए पनि मध्यक्षेत्रीय प्रहरीले कार्वाही नगर्नु बेईमानी भएको स्वंयम् कार्यालय कै कर्मचारीले गुनासो गर्ने गरेका छन् । ठाकुरले डिआइजी गणेश केसीको घुमुवा प्रहरी हुँ भन्दै धनुषा, महोत्तरी र सर्लाहीका व्यापारीहरूसँग खुलेआम रकम असुल्दै आएका छन् । यद्यपि, उनी माथि आवश्यक अनुसन्धान समेत भएको छैनन् । यता, क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी गणेश केसीका अनुसार उनीहरु विरुद्धमा उजुरी परिसकेको र आइतबारदेखि आवश्यक अनुसन्धान गरी दोषी भेटिए बिभागीय कार्वाही गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो , प्रहरीको पोशाक लगाएर अमर्या्दित कार्य गर्ने छुट कसैलाई छैनन् । छानबिन हुन्छ दोषी भेटिए बिभागीय कार्वाही गर्छौं । कुनै कसुर बाकी राख्दैनौं । उनीहरु विरुद्ध क्षेत्रीय प्रशासन कार्यालयको हेल्लो सरकारमा समेत उजुरी परेको र आवश्यक कार्वाही गर्न क्षेत्रीय प्रहरी कार्यालय मकवानपुर लाई निर्देशन दिईसकेको क्षेत्रीय प्रशाशक शम्भु केसीले जानकारी दिनुभयो ।
एक प्रहरी निरीक्षक सहित असई कार्वाहीमा
उता, मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाले भने घुमुवा राखी व्यापारीहरूबाट अबैध रकम असुल्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याएको जनाएको छ । क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका डिआइजी गणेश केसीका अनुसार आफूले जिल्लामा शान्तिसुरक्षालाई मजबुत पारेको बताउदै अनावश्यक टिप्पणी नगर्न सुझाएका छन् । भण्डाफोर साप्ताहिक सित विशेष समय लिएर कुराकानी गर्दै डिआइजी केसीले भन्नुभयो स् सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले घुमुवा प्रहरी बनाई प्रहरी हवल्दार सञ्जय पासवानलाई व्यापारीहरूबाट रकम असुल्न पठाएको जनगुनासोको आधारमा गठित छानबिन टोलीले दोषी भेटिएपछि प्रहरी निरीक्षक कार्की र प्रहरी हवल्दार पासवानलाई कार्यालयमा मै तानेर स्पष्टीकरण सोधिएको जनाएको छ । साथै, सोही जिल्लाका असई सुरेन्द्र पासवानलाई पनि क्षेत्रीय प्रहरी कार्यालयमा तानी कारवाही प्रक्रिया सुरु गरिएको केसीले बताए । असई पासवानले म्यादी प्रहरी भर्ना र ड्युटीमा खटाउँदा समेत घुस लिएको भन्ने गुनासो आएपछि गरिएको छानबिनका क्रममा दोषी ठर्हयाएका पासवान लाई कार्वाही थालिएको बताए । यद्यपि, डिआइजी गणेश केसीले मध्यमाञ्चल क्षेत्रमा कडाइ गरेको र तस्करी नियन्त्रणमा आउने लगभग सुनिस्चित भैसकेको र बदनाम प्रहरीलाई बिभागीय कार्वाही गरिसकेको बताइरहदा अझै पनि घुमुवा प्रहरी राखेर पैसा उठाउने कार्य भईरहेका छन् । केही प्रहरी यस्ता पनि छन् कि डिआइजी केसी ले केही गर्न सक्दैनन् भन्दै खुलेआम अबैध कार्यले प्रोत्साहन पार्दै हिंडेको समेत भेटिन आएको छ । कुनै बेलाबखत मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुर आएका केसीले भटाभट भ्रष्ट कर्मचारीलाई तह लगाएपछि यस अभियानले पर्सा जिल्लामा कार्यरत प्रहरीहरूका हकमा भने अझै डिआइजी केसीले ध्यान नदिएको हो कि भन्ने भाङ नागरिकमा पैदा भएको छ ।