नारायणगढ(मुग्लिन सडक निर्माण अझै लम्विने संकेत,समयमा निमार्ण सक्न संसदीय समितिको निर्देशन

ठेकेदारको लापरवाहीले लाइफलाइन अस्तव्यस्त

नेपालको केन्द्रविन्दुमा रहि राजधानी काठमाडौं र अर्को ठुलो शहर पोखरालाई पूर्वी र पश्चिम तराईसँग जोड्नेमुख्य मार्ग लाइफलाइन को रूपमा रहेको नारायणगढ मुग्लिन सडकखण्ड ठेकेदारको लापरवाहीले अहिले अस्तव्यस्त बन्न पुगेको छ । सरोकारवाला निकायको वेवास्ता र उदासिनताको फाईदा उठाउदै आयोजना र ठेकेदार कम्पनिहरुले लापरवाही गरेका हुन्। दैनिक करिब १० हजार भन्दा बढी सवारी साधन गुड्ने यो सडक बिस्तार कार्य समयमा सम्पन्न गर्न नसक्दा यात्रुहरू त्रासदीपुर्ण यात्रा गर्न बाध्य बनेका छन् । असार लागेपछि कालिखोला क्षेत्रमा लगभग दिनहुँ जसो पहिरो जाने गरेको छ । पहिरोका कारण बन्द यातायात खुल्न १ दिन सम्म लाग्ने गरेको छ । बाटो बनाउन सुरु भएपछि पहिरोमा परेर तीनजना प्रहरीसहित पाँचजनाको  निधन भएको छ । एकजना प्रहरी वेपत्ता छन् । निकै सुस्त रहेको निर्माण कार्य समयमा पुरा गर्न र पहिरोको खतरा रोक्न जोखिम बढेर गएको हो ।
दुई वर्षअघि सडक विस्तारको काम सुरु भएको यो सडकखण्डको तोकिएको समयभन्दा तीन महिना बढी हुँदा समेत आधा काम पनि पुरा  नभएको पाईएको छ । सडक बिस्तारकोे क्रममा विभिन्न ठाउँमा पहाड काटिएका कारण बर्षात्सँगै सो स्थानहरुमा पहिरो खस्न थालेपछि यात्रुहरु त्रासदीपुर्ण यात्रा गर्न बाध्य बनेका हुन् ।
यो सडकखण्डको पुनर्निर्माणको काम पहिलो पटकको सम्झौताअनुसार २०१७ को अप्रिलमा सकिसक्नुपर्ने होे । भुकम्प,नाकाबन्दि लगाएतका विभिन्न कारण देखाउँदै दोस्रो पटक सम्झौता गरियो । सम्झौताअनुसार डिसेम्बर २१ मा काम सकिनुपर्ने हो । तर, अहिलेसम्मको कामको मुल्यांकन गर्दा तोकिएको समयमै काम पूरा हुने छाँट देखिँदैन । योजनाअनुसार १७ प्रतिशत ढिलाइ भएको छ । निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्मनीले सम्झौता भएअनुसार यो अप्रिल महिनासम्म काम सक्नुपर्ने थियो । तर, अहिले ५० प्रतिशतको हाराहारीमा मात्र काम भएको देखिन्छ । यस हिसाबले सडक निर्माण अझै लम्विने संकेत देखिएको छ । सडक निमार्णका लागि तीनवटा कम्पनीले जिम्मा पाएका छन् । नारायणगढ मुग्लिन सडक खण्ड ३६ किलो मिटर लामो छ । जसमध्ये ३३ किलोमिटरमा विस्तारको काम भइरहेको छ। अहिले पाँच मिटर मात्रै चौडाइ रहेको सो सडकलाई नौदेखि ११ मिटर फराकिलो बनाउने योजना रहेको छ । ३३ किलो मिटरलाई तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई कामको जिम्मा लगाइएको छ । प्रत्येक खण्डमा छ छ वटा डोजर हुनु पर्ने सम्झौतमा उल्लेख छ । तर, तोकिएको संख्यामा काम गरेको कहिल्यै नदेखेको गत आईतबार जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकमा भरतपुर २९का वडाध्यक्ष मानबहादुर थापामगरले बताए । चैत्र २९ मा प्रमुख जिल्ला अधिकारीको सक्रियतामा बसेको बैठकले कामदार र औजार उपकरण थपेर भए पनि जेठ १५ गतेभित्र पहाड काट्ने काम सक्ने भन्ने निर्णय गरेको थियो । तर अहिलेसम्म पहाड काट्ने कामसमेत बाँकी नै छ। आँपटारीदेसख दासढुंगासम्मको एक नम्बर क्षेत्रमा काट्ने काम प्राय सकिएको छ । तर दासढुंगादेखि सिमलतालसम्मको दुई नम्बर खण्ड र सिमलतालदेखि मुग्लिनसम्मको तीन नम्बर खण्डमा पहाड काट्ने काम बाँकी छ। दुई नम्बर खण्डमा पाँच सय मिटर र तीन नम्बर खण्डमा तीन सय मिटर कटिङको काम बाँकी छ । सन २०१७ अगस्टसम्म सक्ने लक्ष्य साथ सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् । जसअन्तर्गत आँपटारीदेखि दासढुंगासम्म बिएलए एससिसी जेवी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेवी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौता जेवीले लिएको छ । यो सडक आयोजनाका लागि दुई पटकसम्म म्याद थपिएको छ । त्यसअनुसार काम सम्पन्न हुने सम्भावना नभएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । पहिलो पटक १ सय ३० देखि १ सय ५० दिन सम्झौता अवधि थपिएको छ । दोस्रो पटक ९० देखि सय दिन थपिएको छ । अहिले फेरि ८१ दिनसम्मको म्याद थप्न निर्माण कम्पनीले लबिगं गरिरहेको छ ।
यो सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिम मानिएको छ । तीमध्ये जलबिरेदेखि मुग्लिनसम्म बढी छ । पछिल्लो समय पहिरोको कारण सडक अवरुद्ध हुने क्रमबढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले चासो दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यात्रुले दुःख नपाउने वातावरण बनाउन आग्रह गर्दै भने ’जनशक्ति र उपकरण कति थप्नुपर्ने हो थप्नुस् तर जनताले दुःख पाउनुभएन छ । यो सडकको स्तरोन्नतिको काम २०७१ चैत (सन २०१५ अप्रिल) बाट सुरु भएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल(भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत पनि सञ्चालित नारायणगढ(मुग्लिन सडक आयोजना हो । सडक २ लेनको हुने सडकको निर्माण लागत २ अर्ब ९० करोड हो ।

 

यसैविच,व्यवस्थापिका–संसद्को विकास समितिले नारायणगढ–मुग्लिन सडक समयमै सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा मगंलबार भरतपुरमा आएको टोलीले छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।
बैठकले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति बनाउने, समितिले नियमित अनुगमन गर्ने, रातिको समयमा बन्द गर्ने कि नगर्ने भन्ने प्रतिवेदन तत्काल बुझाउनुपर्ने लगायतका निर्देशन पनि दिएको छ ।
समितिले ठेकेदार कम्पनीले जसरी गर्नुपर्ने त्यसरी काम नगरेको, ठाडो तथा कोप्रो तरिकाले भित्ता कटान गरेको लगायतका कमजोरी औंल्याएको थियो । सो सडक अहिलेसम्म ६८ प्रतिशत काम सक्नुपर्ने भए पनि जम्मा ५० प्रतिशतको हाराहारीमा  मात्रै काम सकिएको छ ।