दृष्टिविहिन क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ – दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११६ रनको योगफल बनायो ।
जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सात दशमलव पाँच ओभरमा कुनै विकेट नै नगुमाई लक्ष्य भेट्टायो । नेपालका सुनिल रानामगरले ४०, रमेशबहादुर बाँनियाले १५ र लोकबहादुर थापाले १० रन जोड्नेबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
यता पाकिस्तानका लागि भने रियासद खानले ५६ तथा मति उल्लाहले ५० रन जोडे । नेपालले यसअघि खेलेको तीन खेलमा एक खेलमा जित तथा बाँकी दुई खेलमा हार बेहोरेको थियो ।
नेपालले हिजो बिहीबार भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ६ विकेटको जित हासिल गरेको थियो भने बुधबार बङ्गलादेशसँग ५९ रनले तथा मङ्गलबार अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो ।
नेपालले भोलि शनिबार वेस्ट इन्डिजसँग खेल्नेछ ।